जीवनशैली परिवर्तनका कदमहरु
स्वस्थ जीवनशैली भनेको व्यवस्थित जीवनशैली हो । आहार, विहार र विचारलाई व्यवस्थित गर्न सके जीवन स्वथ्य रहन्छ । प्रत्येक व्यक्तिले आफ्नो जीवनलाई मनपरी रुपमा नभई व्यवस्थित रुपमा सञ्चालन गर्न सिक्नु पर्दछ । जीवनशैलीलाई व्यवस्थित गर्ने पद्धति बारे थाहा पाईराख्नु पर्दछ । जीवनशैली व्यवस्थापनका नौ प्रमूख पक्षहरु छन् । यदि कसैको जीवनशैली अस्वस्थकर र अव्यवस्थित छ भने उसले रोगहरुको शीकार हुन बाट बच्न जीवनशैलीलाई परिवर्तन गर्नु आवश्यक हुन्छ । रोगको शीकार भैसकेकाहरुले पनि रोगलाई नियन्त्रणमा ल्याउन र रोगमुक्त हुन जीवनशैली परिवर्तन गर्नु पर्दछ । जीवनशैली परिवर्तनबाट स्वास्थ्यलाई ठूलो लाभ मिल्दछ । जीवनशैली परिवर्तन गर्ने भनेको अव्यवास्थित जीवनलाई व्यवस्थित गर्ने हो । यो जीवनशैली व्यवस्थापन हो । उच्च रक्तचापबाट पीडित धुम्रपान गर्ने व्यक्तिले धुम्रपान त्यागेको खण्डमा मात्र पनि रक्तचाप नियन्त्रणमा आउन सक्छ । यस्तै प्रकारले मधुमेहद्वारा पीडित मोटो व्यक्तिले शरिरको तौल घटाएको खण्डमा मधुमेह नियन्त्रणमा आउन सक्दछ । एवं प्रकारले नियमित व्यायाम गर्न थाल्यो भने कोलेस्टेरोल घट्न थाल्छ, हृदयघातको संभावना घट्छ । जीवनशैली परिवर्तन गर्न सर्व प्रथम यसको आवश्यकताको वोध हुनु जरुरी छ । त्यस पछि आत्मबल जुटाउनु पर्दछ । सफल हुन्छु भन्ने सकारात्मक सोचाई राख्नु पर्दछ । निरोगी बन्छु भन्ने दृण विश्वास राख्नु पर्दछ । जीवनशैली परिवर्तन प्रयास भोली देखि होइन आजै देखि सुरु गर्नु पर्दछ । जीवनशैली परिवर्तनका मूलभूत ९ वटा कदमहरु बारे यस निर्देशिकामा वर्णन गरिएको छ ।
१. सुखि जीवन २. धूमपान (चुरोट, सुर्ती) त्याग ३. मोटोपना नियन्त्रण ४. नियमित व्यायाम ५. सन्तुलित आहार ६. रक्सीको सट्टा फलफुलको रस ७. योग अभ्यास ८. मानसिक तनाब मुक्ति ९. नियमित स्वास्थ्य परीक्षण