• Dhobighat, Lalitpur Near Saraswati Temple
  • 01-5530126 On Office Hours
  • Appointment

Health Tips - Details

जीवनशैली र मुटुरोग

हिजो–आज धेरै मानिसहरुमा मुटुसँग सम्बन्धि समस्याहरु देखिन्छन् । उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ । मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित छन् । आजका मानिसहरुको जीवनशैली निकै अव्यवस्थित हुन पुगेको छ । यही अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वाकांक्षा, भोजभतेर, कम्प्युटर र टेलिभिजन, अत्यधिक मानसिक तनाव, व्यायामको कमि अनि पैसा कमाउने दौड, यिनै हुन् संक्षिप्तमा मुटुरोग बढ्नाका प्रमुख कारणहरु ।

सम्पूर्ण मुटुका रोगहरुको ७५ प्रतिशत र हृदयघातसँग सम्बन्धित मुटुरोगको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैली हो भन्ने कुरा प्रमाणित भइसकेको छ । यसकारण जीवनशैलीलाई व्यवस्थित गरी स्वस्थ राख्न सकिएको खण्डमा धेरैजसो मुटुका रोगहरुलाई धेरै हदसम्म रोक्न सकिन्छ । मुटुरोग नियन्त्रणका लागि जीवनशैली व्यवस्थित गर्नेतर्फ लाग्न जरुरी छ । सुत्ने, उठ्ने, खाने, पिउने, बानीव्यवहार, सोचाइ, दिनचर्या आदि सबै जीवनशैलीभित्र पर्छन् । सम्झिन सजिलो होस् भनी जीवनशैलीलाई तीनवटा पक्षमा विभाजित गरेर हेर्न सकिन्छ । ती हुन्–आहार, विहार, र विचार । मानिसको आहार, विहार र विचार को स्वरुप नै जीवनशैली हो । यो कस्तो हुनुपर्दछ भन्ने बारे तल वर्णन गरिएको छ ।


आहार (भोजन) कस्तो हुनुपर्दछ ?

१. आहार सन्तुलित हुनु पर्दछ । कार्वोहाईड्रेट्स, प्रोटिन, चिल्लो, भिटामिन, लवणहरु आदि पोषणतत्वहरु शरिरका लागि आवश्यक मात्रामा आहारमा समावेश भएको हुनु पर्दछ ।
२. घ्यू–तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउनका लागि शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।
३. नुन दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नुहुँदैन । नुन थपेर खाने बानी छोड्नुपर्छ ।
४. बिहान–बेलुकीको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तीमा एकपल्ट फलफूल खानुपर्छ ।
५. ४० वर्षको उमेर काटेपछि अथवा मुटुरोगले छोएकाहरुको बेलुकीको खानामा २–३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । खानाको मात्रा सबैका लागि एकैनास हुँदैन । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खाने गर्नुपर्छ । काम कम माम धेरै गर्नुहुँदैन । बेलुकीको खाना खाएपछि तुरुन्त सुत्नुहुँदैन । कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ ।
६. शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर नियन्त्रित रुपमा माछा, मासु खाएमा हानि छैन । खसी, राँगो, बंगुरले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराले कम बढाउँछ । चिल्लो नराखी माछा र कुखुरा पकाउने तरिका सिक्नुपर्छ । यस्तो खानाले हानि गर्दैन । माछामासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछामासु नखानु नै उत्तम हुन्छ ।
७. उच्च फाइवरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपातहरु हुन् । गेडागुडीलाई अंकुरित रुपमा खानु अझ बढी लाभदायक हुन्छ ।
८. खाना थोरै–थोरै तर धेरैपल्ट खानु उचित हुन्छ । दुई छाक खाने तर पेट कसेर खाने अनि खाने बितिक्कै सुत्ने, यो मुटुका लागि अत्यन्तै खतरनाक खाने बानी हो । आहार व्यवस्थापन भन्नाले यस्तो बानी त्यागी थोरै खाने, धेरै पल्ट खाने र उचित खाना खाने बानी बसाल्नु हो ।
९. खानालाई राम्रोसँग चपाएर खानुपर्छ ।
१०. ठोस आहारसंग पानी नपिउदा राम्रोसंग पच्दछ । खाना खाएको १ घण्टा पछाडी वा अगाडी पानी पिउनु राम्रो हुन्छ । विहान सवेरै खाली पेटमा २–३ गिलस पानी पिउने बानी बसाल्नु पर्दछ ।
११. मुटुरोग लागिसकेकाहरुले डाक्टरको सिफारिस अनुसार रोग अनुसारको आहार लिनुपर्छ ।
१२. मोटो मानिसले तौल घटाउने कम क्यालोरीयुक्त आहार लिनुपर्छ ।


विहार (व्यवहार) कस्तो हुनुपर्दछ ?

१. व्यवस्थित सुत्ने र उठ्ने बानी एकदम महत्वपूर्ण छ । राति १० देखि ११ बजेभित्र सुत्नुपर्छ । ५ देखि ७ घण्टासम्मको गहिरो निद्रा अत्यावश्यक छ । निद्रा लाग्दैन भने औषधी खाएर भए पनि निदाउनुपर्छ । निद्रा नपरेमा मुटुका रोगहरु बढ्दै जान्छन् । निद्रा कम पर्ने मानिस बढी मोटाउँछन् अनि बढी मोटो मानिस मुटुरोगी हुन्छन् । निद्रा कम हुँदा दिमागमा बोझ बढ्छ अनि रक्तचाप, ब्लडसुगर बढ्छ, हृदयघात हुन्छ । यी प्रमाणित तथ्य हुन् ।
२. बिहान ५ देखि ६ बजेभित्र उठनुपर्छ । ढिलासम्म सुत्नुहुदैन । बिहान जति सबेरै उठ्यो मन त्यति नै बढी स्वच्छ र शरीर चंगा हुन्छ ।
३. दिनदिनै नुहाउनु राम्रो हुन्छ । नुहाउने बित्तिक्कै खानु हुँदैन । खाना र नुहाउने बीच कम्तिमा १ घण्टाको फरक हुनु पर्दछ । नुहाउने वित्तिकै खाएको खाना राम्रोसँग पच्दैन ।
४. बिहान उठेर नित्यकर्म सकेपछि व्यायाम गर्नु अनिवार्य छ । जीवनशैलीमा उठेपछि नियमित एक घण्टा व्यायाम गर्ने बानी बसाल्नु अति आवश्यक छ । यसलाई सुत्ने, उठ्ने, खाने, पिउनेजस्तै नियमित नित्यकर्म बनाउनुपर्छ । योगासन, प्राणायाम र ध्यान अति उत्तम शारीरिक र मानसिक व्यायाम पद्धति हुन् । दैनिक बिहान एक घण्टा योग गर्नु मुटुरोग नियन्त्रण तर्फको प्रभावकारी कदम हो । यसबाहेक अन्य व्यायाम पद्धति पनि अनुशरण गर्न सकिन्छ ।
५. व्यायाम सकेपछि प्रत्येक दिन ३० मिनेट त्यस दिनमा गर्नुपर्ने कार्यहरुबारे योजना बनाउनुपर्छ । यसो गर्ने बानी बसालेमा कार्यहरु व्यवस्थित रुपमा, हडबड नगरीकन र प्रभावकारी तवरले गर्न सकिन्छ ।
६. चुरोट, सुर्ती र रक्सी पिउने बानी मुटुका लागि हानिकारक छ । यो बानी त्याग्नुपर्छ ।
७. उभिंदा कत्ति पनि कुप्री नपरि एकदम सोझो भएर उभिने गर्नुपर्छ । यसबाट शारिरीक सन्तुलन कायम रहन्छ । मेरुदण्ड सोझो पारेर खुकुलोसँग उभिंदा जमीनबाट सीधा ९० डिग्रीको रेखा तान्दा खुट्टाको गोलिगाँठो र कान एउटै सरल रेखामा परेको हुनु पर्दछ । यस्तै प्रकारले वस्दा र सुत्दा पनि मेरुदण्ड सोझो र खुकुलो हुनुपर्दछ ।
८. आफ्नो क्षमताभन्दा बढी कार्यबोझ लिनुहँुदैन । नसक्ने भएपछि सक्दिन भन्न डराउनु हुँदैन । अत्यधिक कार्यबोझबाट नै उच्च रक्तचाप, हृदयघातजस्ता रोगहरु उत्पन्न हुन्छन् । बाँच्ने आफ्नो लागि हो अरुका लागि होइन भन्ने मानसिकता बनाउनुपर्छ । हप्ताको एक दिन विश्राम आवश्यक छ । यो दिन परिवारका सदस्यहरुसँग बिताउनुपर्छ ।
९. आजको दिन, आजको काम, आजको व्यवहारलाई नै महत्व दिएर हेर्नुपर्छ । बितेको कुरा र भोली हुने कुराहरुलाई लिएर आजको काममा बाधा उत्पन्न हुने परिस्थिति बनाउनु हुदैन ।
१०. सानालाई माया र ठूलालाई आदर गर्ने बानी बसाल्नुपर्छ ।
११. किताब पढ्ने बानी बसाल्नुपर्छ । किताबबाट ज्ञान–बुद्धि मात्र होइन सुख– सन्तुष्टि पनि प्राप्त हुन सक्छ । नियमित रुपमा कुनै न कुनै किताब पढ्ने बानी भएका व्यक्तिहरुको जीवन बढी व्यवस्थित हुन्छ । फुर्सद हुँदा, कसैलाई कुर्दा किताब पल्टाइहाल्नुपर्छ । आफूलाई मनपर्ने र विश्वप्रसिद्ध पुस्तकहरु पढ्ने गर्नुपर्छ ।
१२. वर्षको एकपल्ट परिवारका सदस्यहरुका साथमा कुनै नयाँ ठाउँमा घुम्न जाने बानी बसाल्नुपर्छ । सिनेमा हेर्ने, संगीत सुन्ने आदि पनि जीवनशैलीका आवश्यक पक्षहरु हुन् । संगीत विनाको जीवन निरस हुन्छ । निरोगी रहन गीत–संगीत नियमित सुन्ने गर्नुपर्छ ।
१३. आफ्नो लागि गरिने कुनै पनि क्रियाकलापले अरुलाई हानी नोक्सानी पु¥याएको भए त्यो रोक्नुपर्छ ।


विचार (सोचाई) कस्तो हुनुपर्दछ ?

१. मानसिक तनाव उत्पन्न हुने कारणहरु धन–सम्पत्ती, अन्तरव्यक्ति सम्बन्ध, कार्यबोझ, लेनदेन, महत्वाकांक्षा, नामको भोक आदि मुख्य हुन् । यी पक्षहरुको वैचारिक व्यवस्थापन महत्वपूर्ण मुद्दा हो । विचारमा सकारात्मक चिन्तन प्रबल रहनुपर्छ । उज्यालो पक्ष, राम्रो पक्षलाई नै समाएर हिँडन सिक्नुपर्छ । सुख, सन्तुष्टि भन्ने कुरा विचार र मनबाट आउने मनोगत कुराहरु हुन् । धन–सम्पत्ती र वस्तुबाट सुख प्राप्त हुँदैन ।
२. धन कमाउनुपर्छ तर थुपारेर राख्नुहुँदैन । धन कमाउनेले त्यसको सहि योग गर्नुपर्छ । धन उद्योगमा लगाएर अरुका लागि रोजगारी प्रदान गर्नुपर्छ । प्रयोग नगरी थुपारेर राखेको धनले तनाव उत्पन्न गराउँछ ।
३. कुनै पनि समस्या छ भने त्यसको स्थायी समाधानतर्फ लाग्नुपर्छ । समस्या जति लामो समयसम्म रहि रहन्छ त्यति नै मनलाई पिरोलिरहन्छ ।
४. शत्रुता राख्नुहुँदैन । चित्त नबुझेको कुरा मनमा राख्नुहुँदैन । त्यसलाई उचित तवरले सम्बन्धित ठाउँमा भन्नुपर्छ । यसबाट मन शान्त हुन्छ ।
५. महत्वाकांक्षा र नामको भोकले मानसिक तनाव जन्माउँछ । यसको पछाडि लाग्नुहुँदैन ।
६. जीवनका विविध पक्षहरुलाई सरल र सहज रुपले ग्रहण गर्न सिक्नुपर्छ । सबै विचारकै कुरा हो, जस्तो सोच्यो त्यस्तै हुन्छ । पानी पर्दा रमाउन पनि सकिन्छ, दुःखी हुन पनि सकिन्छ । घरमा पाहुना आउँदा सुखी हुन पनि सकिन्छ, दुःखी हुन पनि सकिन्छ । यस्तैगरी घरमा चोरी हुँदा चिन्ताले मर्न पनि सकिन्छ, फेरि परिश्रम गरेर अझ बढी कमाउँला भनी चित्त बुझाउन पनि सकिन्छ ।
७. गल्ती र हार भन्ने हुँदैहुँदैन । यी सबै जीवनका पाठहरु हुन् भन्ने सोच्नुपर्छ ।
८. विचारलाई व्यवस्थित गर्न योग अभ्यास विशेषगरी प्राणायाम र ध्यान अत्यन्त प्रभावकारी छन् ।

Years of Experience

12

Services Offered

10

Awards Received

30

Patients Served

12000