मुटुका रोगहरूको रोकथाम र नियन्त्रणका आधारहरू
मुटुका रोगहरूको रोकथाम (Prevention) भन्नाले रोग लाग्नै नदिने तर्फ कदम चाल्नु हो । जस्तै बाथ ज्वरो र बाथ मुटुको रोग नलागोस् भन्नाका लागि स्कूल जाने उमेरका बाल बालिकाहरूले घाँटी दुख्ने र ज्वरो आउने भएको बेलामा यसको उपचार एण्टीबायोटीक खाएर गराउनु पर्छ साथै घाँटी दुख्ने समस्या नआवोस् भन्नाका लागि विभिन्न उपायहरू गर्नु पर्छ । यस्तै प्रकारले उच्च रक्तचाप रोग नलागोस् भन्नाका लागि दैनिक व्यायाम गर्नु पर्छ, चुरोट, सुर्ति खानु हुँदैन, मोटो हुनु हुदैन, चिल्लो, नून कम खानु पर्छ, मानसिक तनाव मुक्त जीवनशैली अपनाउनु पर्छ आदि । यी भए रोकथामको कुरा । अब मुटुका रोगहरूको नियन्त्रण (Control) भन्नाले रोग लागि हाल्यो भने यसलाई महामारीको रूप लिन नदिने, यसलाई बढ्न नदिने, यसबाट धेरै क्षति पुग्न नदिने र यसलाई एउटा नियन्त्रित र सुरक्षित दायरा भित्र राख्नका लागि अपनाउनु पर्ने उपायहरू भन्ने बुझ्नु पर्दछ । जस्तै उच्च रक्तचाप रोग लागि सकेकाहरूलाई हृदयघात, मिर्गौलाघात, मस्तिष्कघात आदिको खतरा रहन्छ, औषधीहरूको सेवन, मोटोपना नियन्त्रण, खानपीनमा नियन्त्रण, व्यायाम आदिबाट उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ, यसलाई बढ्नबाट रोक्न सकिन्छ । यस प्रकार रोगको रोकथाम र नियन्त्रण एउटै प्रक्रियाका दुई पाटाहरू हुन् जुन संगसंगै जानुपर्दछ । मुटु रोगको रोकथाम र नियन्त्रणका लागि अपनाउनु पर्ने केहि प्रभावकारी उपायहरूबारे यहाँ वर्णन गरिएको छ । यी नै मुटु रोग रोकथाम र नियन्त्रणका आधारहरू हुन् । १. धूम्रपान त्याग्ने २. मोटोपना नियन्त्रण ३. नियमित व्यायाम ४. सन्तुलित स्वस्थ्य मुटु आहार (Balanced Healthy Heart Diet) ५. रक्सी सेवन नियन्त्रण ६. जीवनशैली व्यवस्थापन ७. योग अभ्यास