• Dhobighat, Lalitpur Near Saraswati Temple
  • 01-5530126 On Office Hours
  • Appointment

Health Tips - Details

जन्मजात मुटुका रोगहरू

आमाको गर्भभित्र शिशुको विकाश हुँदै जाँदा मुटुको निमार्णकोसमयमा गडबडी भएमा एक वा सो भन्दा बढी विकृतिहरू सहितको मुटुको निर्माण हुन्छ र शिशुले जन्म लिँदा यस्तो विकृतिहरू सहितको मुटु लिएर ऊ जन्मिन्छ । आमाको गर्भमा ३ महिना पुग्दा नपुग्दै मुटुको निर्माण भैसकेको हुन्छ । गर्भको शिशुको लम्बाई ३ देखि ४ इञ्चको हुँदैमा मुटुको पूर्ण विकाश भैसकेको हुन्छ । अतः गर्भमा शिशुको विकाशको प्रथम ३ महिनाको अवधिभित्र यदि कुनै कारणहरूले मुटुको विकाशमा गडबडी उत्पन्न भएमा यसले शिशुलाई जन्मजात मुटुरोगी बनाउँदछ । के कति कारणले शिशुको मुटुमा यस्ता विकृती देखा पर्न सक्दछन् भन्ने कुरा पूर्ण रूपले जानकारीमा नआएको भए पनि यस बारे केही तथ्यहरू पत्ता लागेका छन् ।
गर्भधारण गरेको ३ महिनाभित्र रुबेला नामक एक किसिमको दादुरा जस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशुको निर्माण भैरहेको मुटुमा विकृति उत्पन्न गराउन सक्छ । यस्तै प्रकारले गर्भधारण गरेको ३ महिना भित्रको अवधिमा महिलाले गर्भकालागि असुरक्षित मानिएका औषधीहरूको सेवन गरेमा, अत्याधिक धूम्रपान र मद्यपान गरेमा, शरीरमा एक्सरेको विकिरण परेमा आदि अवस्थाहरूमा मुटु निर्माणमा गडबडी भई विकृत मुटुको निर्माण हुन सक्छ । गर्भवती महिलाहरूको भोजनले पनि विशेष महत्व राख्दछ । भोजनमा भिटामिन र अन्य आवश्यक पोषण तत्वहरूको कमी भएमा पनि गर्भिणी महिलाहरूलेत्रुटिपूर्ण विकाश भएका शिशुहरूलाई जन्म दिन्छन् । कहिले काँही एउटै परिवारका सहोदर भाई बहिनीहरूमा पनि मुटु सम्बन्धि जन्मजात विकृतिहरू देखिन सक्छन् । यस्तो हुनुमा वंशानुगत दोष (Genetic Defect) रहेको हुन्छ ।


केहि प्रमुख जन्मजात मुटुका रोगहरू

क) शिशु निलो नहुने  (Acyanotic)

• Atrial Septal Defect (ASD) मुटुको माथिल्लो साना कोष्ठहरू छुट्याउने भित्तामा प्वाल हुने
• Ventricular Septal Defect (VSD) मुटुको तल्लो ठूला कोष्ठहरू छुट्याउने भित्तामा प्वाल हुने
• Patent Ductus Arteriosus (PDA) ठूलो रक्तनलीहरू बीच असामान्य सम्बन्ध हुने
• (Coarctation of Aorta) ठूलो रक्तनली साँगुरिन


ख) शिशु निलो हुने  (Cyanotic)

Tetralogy of Fallot (TOF) मुटुमा प्वाल हुने, भल्भको पूर्ण विकाश नहुने लगाएतका २ भन्दा बढी त्रुटीहरू


जन्मजात मुटु भित्रका प्वालहरू (ASD vs VSD)

मुटुमा हुने जन्मजात विकृतीहरू मध्ये मुटुमा प्वाल पर्ने धेरै फेला पर्छ । केही शिशुहरूमा मुटुको दाहिने र देब्रे भाग छुट्याउने बीचको भित्तामा प्वाल भएको पाइन्छ । मुटुमा प्वाल पर्ने भनेको यहि समस्या हो । यो प्वाल मुटुको बाहिरी भागमा होइन भित्री भागमा हुन्छ । दाहिने र देबे्र भागलाई छुट्याउने भित्तामा हुन्छ । यो त्रुटीका कारण उत्पन्न हुने लक्षणहरू र गंभिरता त्यो प्वाल कुन ठाउँमा छ र कति ठूलो छ भन्ने कुरामा निर्भर गर्दछ । मुटुको माथिल्ला साना कोष्ठहरू (Atrium) छुट्याउने भित्तामा हुने प्वाल जसलाइ ASD (Atrial Septal Defect) भनिन्छ, कम खतरनाक हुन्छन् | यदि यो प्वाल सानो छ भने कुनै उपचारको आवश्यकता नपर्न सक्छ र यस्तो मुटु भएका व्यक्तिहरू कुनै समस्या बिना पुरा आयु बाँच्न सक्दछन् ।

मुटुको तल्लो भागका ठूला कोष्ठहरू (Ventricles) लाई छुट्याउने भित्तामा हुने प्वाल जसलाई VSD(Ventricular Septal Defect) भनिन्छ बढी खतरनाक हुन्छन् र सानै आकारको भए पनि यो प्वाललाई शल्यकृयाद्वारा टाल्नु उचित हुन्छ । मुटुमा हुने यस्ता प्वालहरूले गर्दा मुटुभित्र चाप बढ्न गई मुटुको दाहिने भागमा सञ्चालन हुने अशुद्ध रगत र बायाँ भागमा सञ्चालन हुने शुद्ध रगत आपसमा मिसिन जान्छ जसका कारण रोगका विभिन्न लक्षणहरू देखा पर्दछन् ।

Patent Ductus Arteriosus (PDA)

शिशु जन्मनु भन्दा अगाडि आमाको पेटभित्र रहँदा ठूला रक्तनलीहरू Aorta र सानो Pulmonary Artery नसा Pulmonary Artery को माध्यमद्वारा एक अर्कासँग जोडिएका हुन्छन् । Aorta बाट रगत यसै सानो नसाको बाटो हुँद Pulmonary Artery मा जान्छ । साधारण अवस्थामा बच्चाले जन्म लिएर सास फेरेको केही घण्टाभित्रै यो सानो नसा बन्द हुन्छ र Aorta र Pulmonary Artery बीचको सोझो सम्पर्क समाप्त हुन्छ । यदि यो सानो नसा बन्द भएन भने यसले रोगको रूप लिन्छ जसलाई PDA भनिन्छ । यस्तो अवस्थामा शिशुको रगत Aorta बाट Pulmonary Artery मा जाने क्रम जारी रहन्छ, Pulmonary Artery भित्रको चाप बढ्न थाल्छ, फोक्सो तर्फ रक्तप्रवाहको मात्रा बढ्छ, मुटुको बायाँ तर्फ बढी चाप पर्न जान्छ जसका कारण विभिन्न समस्या आउन सक्छ । छातीको बायाँ तर्फ माथिल्लो भागमा स्टेथेस्कोपले सुन्दा अचम्मको, ठूलो, लगातार मेसिनरी आवाज (घारघुर, घारघुर) सुनिन्छ । यो समस्या देखिएका शिशुहरूको ३–४ वर्षको उमेर पुगे पछि सानो अप्रेशन गरेर खुलै रहेको त्यो सानो नसालाई बाध्नु पर्दछ । यो साधारण अप्रेशन हो र यसबाट रोग पूर्ण रूपले ठीक हुन्छ ।

Tetralogy of Fallot (TOF)

यो जन्मजात मुटुको रोगमा शिशुमा एउटा मात्र नभै ४ वटा रचनात्मकद्दण् त्रुटीहरू रहेका हुन्छन् । मुटुमा ठूलो प्वाल (VSD) हुन्छ, Pulmonary Artery सुकेको र साँगुरिएको हुन्छ, Aorta आफ्नो ठाउँबाट अलि माथि सरेको हुन्छ र दायाँ क्षेपक कोष्ठ (Right Ventricle) को मांसेपेशी मोटाएको (Hypertrophy) हुन्छ । यो विकृतिमा मुटुको दायाँतर्फको रगत बायाँतर्फ प्वालबाट सोझै गएर मिसिने हुँदा बच्चा निलो हुन्छ । समयमै अप्रेशन गरेर यो विकृती मिलाउनु पर्छ । एक पल्टको अप्रेशनले मात्र नभई पटक पटक अप्रेशन गर्नु पर्ने हुन सक्छ ।

जन्मजात मुटुरोगका लक्षणहरू

१.   नवजात शिशुको जिब्रो, ओठ र औंलाका टुप्पाहरू निलो हुने (Cyanosis)
२.   औंलाका टुप्पाहरू बाक्ला र चाक्ला हुने (Clubbing)
३.   मुटु हल्लिने (Palpitation)
४.   दम बढ्ने (Dyspnoea)
५.   बारम्बार नवजात शिशुलाई रूघा खोकीले सताई राख्ने
६   शिशुको उमेर अनुसारको शारीरिक विकास नहुने
७.   निदारमा पसिना आउने

रोगको निदान (Diagnosis)

मुटुको भिडियो (इको कार्डियोग्राफी) परीक्षण गरेपछि यो रोग भएको वा नभएको पक्का गर्न सकिन्छ ।

उपचार (Treatment)

जन्मजात मुटुको रोगको शल्यक्रियाद्वारा राम्रोसँग उपचार गर्न सकिन्छ । प्वाल परेको मुटुलाई शल्यक्रियाद्वारा टालेर पूर्ण रूपले ठीक पार्न सकिन्छ । शल्यक्रिया पछि यस्ता रोगीहरू निरोगी व्यक्तिहरू सरह जीवनयापन गर्न सक्दछन् । यस कारण जन्मजात मुटु रोग देखिएमा आत्तिहाल्नु पर्दैन । रोगको प्रकृति हेरिकन मुटु शल्य चिकित्सकले अप्रेशन गर्नु पर्ने वा नपर्ने र यदि पर्ने भए शिशुको उमेर कति पुगेपछि अप्रेशन गर्ने आदि सल्लाह दिनेछन् । महत्वपूर्ण कुरा यो छ कि मुटुभित्रको चाप बढ्दै जान थाल्यो र मुटुभित्रको रक्तसञ्चारमा गडबडी उत्पन्न हुन थाल्यो भने तुरून्त अप्रेशन गरेर प्वाललाई टाल्नु पर्दछ । यदि मुटुभित्रको चाप धेरै नै बढेर दायाँ कोष्ठबाट रगत बायाँ कोष्ठमा जान थालिसकेको रहेछ भने अप्रेशन गर्न नमिल्ने हुन सक्छ । यस्तो अवस्थाको पहिचान मुटुको इकोकार्डियोग्राफी परीक्षणबाट गर्न सकिन्छ । यस्तो अवस्था ASD भएकाहरूमा भन्दा VSD भएका रोगीहरूमा बढी हुन्छ । यसैले प्वाल परेको मुटु हुनेहरूले योगासन, व्यायाम, प्राणायाम आदि गरेर रोग निको हुन सक्छ भन्ने भ्रममा बस्नु हुँदैन । ब्यायामले यस्ता रोगहरूमा नकारात्मक असर पार्न सक्दछ । शल्यचिकित्सा नै यस समस्याको एक मात्र समाधान हो । जन्मजात मुटुको रोगहरूको शल्यक्रिया धेरै महंगो छैन । यस्तो शल्यक्रियाका लागि सरकारी अस्पतालमा रोग हेरिकन १५ हजार रूपैयाँ देखि १ लाख रूपैयाँ सम्म मात्र खर्च लाग्छ । उपचार पछि यस्ता रोगीहरूले कुनै पनि औषधी खाई राख्नु पर्दैन र उनीहरू पूर्णरूपले स्वस्थ हुन्छन् ।

Years of Experience

12

Services Offered

10

Awards Received

30

Patients Served

12000